रसुवाको गोसाईंकुण्ड गाउँपालिकाको आयोजनामा तेस्रो पालिका स्तरीय राष्ट्रपति रनिङशिलको उपाधि कोमिन श्यामेवाङफेल मावि स्याफ्रुवेसिले हात पारेको छ ।
सोमवार स्याफ्रुवेसि रसुवामा सम्पन्न उक्त प्रतियोगितामा ११ स्वर्ण,२ रजत २ कास्य गरी १५ पदक हात पारेर कोमिन श्यामेवाङफेलले उपाधि जित्न सफल भएको हो । यस्तै ४ स्वर्ण १० रजत ४ कास्य गरी १८ पदक हासिल गरेर हाईल्याण्ड मावि धुन्चे द्वितीय,४ स्वर्ण ५ रजत ८ कास्य गरी १७ पदक ल्याइ रसुवा माविले धुन्चे तृतीय स्थान हात पारेको छ ।
कार्यक्रममा प्रमुख अतिथि गोसाईंकुण्ड गा.प. का अध्यक्ष कैसाङ नुर्पु तामाङले अनुशासित तवरबाट छात्रछात्राहरूले खेलमा निभाएको भूमिका प्रति धन्यवाद दिए । गोसाईंकुण्ड गा.पा.ले शिक्षामा बढी बजेट विनियोजन गरेको जानकारी दिँदै पालिकाले खेलकुद क्षेत्रमा थप विकास गर्ने प्रतिबद्धता गरे । यस पालिकाबाट छनौट भई जिल्ला स्तरीय प्रतियोगितामा विजय हुने जिल्ला विद्यार्थी खेलाडीलाई जनही ५ हजार दिने पुनः घोषणा गरेका छन् ।
गोसाईंकुण्ड गा.पा. वडा नं. ५ का वडा अध्यक्ष दावा मिङमार तामाङले कार्यक्रम समापनमा प्रतियोगिता जित्न सफल भएका खेलाडीहरूलाई बधाई तथा शुभकामना दिए । तेस्रो रनिङ शिल्ड प्रतियोगिता सफल गराउन सबै क्षेत्रबाट सहयोग गर्नुहुने सम्पूर्ण शिक्षक शिक्षिका, प्रतियोगितामा सहभागी विद्यार्थी, पालिका सदस्यहरू, सुरक्षाकर्मी, पत्रकार तथा अभिभावकहरुलाई धन्यवाद दिएका छन् ।
प्रमुख अतिथि कैसाङबाट विजेताहरूलाई शिल्ड, नगद तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
समापन कार्यक्रममा सहभागी सबै विद्यालयका शिक्षक शिक्षिकाबाट नृत्य प्रदर्शन प्रस्तुत गरिएको थियो । पालिकाका कर्मचारी र शिक्षक बिच मैत्रीपूर्ण भलिबल खेल भएको थियो ।
प्रतियोगितामा पालिका भित्रका निजी २ र सामुदायिक ५ वटा गरी जम्मा ७ वटा विद्यालयका विद्यार्थीहरूले प्रतिस्पर्धा भएको थियो । सो प्रतियोगितामा रसुवा मा.वि. धुञ्चे, हाईल्याण्ड आवासीय मा.वि. धुञ्चे, नमुना एभरग्रिन इङलिस बोर्डिङ स्कुल धुञ्चे, सरस्वती आधारभूत विद्यालय ठाडे, भिमशेन आधारभूत विद्यालय ठूलोभार्खु, कोमिन श्यामेवाङफेल मा.वि. स्याफ्रुबेशी र नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरेका १ सय ५८ विद्यार्थी सहभागीले भलिबल, दौड, रेले, हाई जम, लाङजम, ज्यबलिङ थ्रो र सटफुट खेल इत्यादि ७ वटा इभेन्टमा १ सय ३१ वटा पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।