गण्डकी प्रदेशमै पहिलो पटक आयोजना भएको नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२३ पोखरा रंगशालामा चैत ११ गते सम्पन्न भएको छ ।नोभिस र नेश्नल गरी दुई क्याटेगोरीमा १ सय ५० सिसीको मोटरसाइकल रेसिङमा सम्पन्न भएको सो प्रतियोगितामा आशिक लामाले बाजी मारेका छन् । दोस्रो स्थान राजकुमार कार्कीले हात पारेका छन् भने युकेश थापा तेस्रो भएका छन् । त्यसैगरि नोभिस क्याटेगोरीमा निमेश ठकुरी पहिलो, दिलीप दनुवार दोस्रो हुँदा मङ्गगेष जोशी तेस्रो भएका छन् ।नेपाल अटोमोबाईल्स एसोसिएसन (नासा नेपाल) मा आबद्ध क्लब मोटर स्पोर्टस नेपालद्वारा आयोजित नेपालकै लोकप्रिय बाइक रेसिङमा नोभिस तर्फ ४७ जना प्रतिस्पर्धी थिए भने नेश्नल तर्फ १८ राइडर्सले भाग लिएका थिए ।यमाहा मोटरसाइकल मुख्य प्रायोजक रहेको रेसिङका विजयीहरूलाई गण्डकी प्रदेशका सांसद तथा पूर्व खेलकुद मन्त्री राजीव गुरुङ,निवर्तमान राखेप बोर्ड सदस्य सम्पन्न श्रेष्ठ, र पोखरा महानगर खेलकुद विकास समितिका दीपकबहादुर गोदार पुरस्कारले वितरण गरिएको थियो ।कार्यक्रममा बोल्दै पूर्व खेलकुद मन्त्री गुरुङले यस किसिमको प्रतियोगिताको निम्ति आफ्नो साथ र समर्थन रहेको जानकारी दिए । कार्यक्रममा नासा नेपालका सचिव सन्तोष न्यौपाने, प्रदेश खेलकुद सदस्य योगेन्द्र गुरुङ तथा आकृति भण्डारी र पश्चिमाञ्चल खेलकुद विकास समितिका लक्ष्मण योगी लगायतको उपस्थिति रहेको थियो ।विश्वकै लोकप्रिय मानिएको मोटरसाइकल रेसिङ सन् २००८ बाट नेपालमा प्रवेश भएको हो । विश्व मोटरसाइकल महासङ्घ फेडेरेसन इन्टरनेशनल डे मोटरसाईक्लीजमको नेपाल च्याप्टरको रूपमा नासा नेपाल र त्यसको मातहतका दर्जनौँ क्लबहरू मोटरसाइकल रेसिङ, र्‍याली र टुरिङमा क्रियाशील रहेका छन् ।